डोटीको बोगटान फुड्सिल गाउँपालिकामा फोहोरमैला व्यवस्थापनलाई सुधार गर्न बाँसबाट निर्मित डस्टबिनका रूपमा डोको वितरण गरिएको छ। ‘युएमएन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालन भएको क्लाइमेट परियोजनाको सहयोग तथा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ को समन्वयमा डोको वितरण गरिएको हो।
सिमचौर स्वास्थ्य चौकी, सिमचौर मावि, माष्टमाडौं आवि, सेउडेखेत सामुदायिक स्वास्थ्य इकाई, कर्कटेश्वर मावि, नमुना आवि, र वडा नम्बर १ सिमचौरलगायतका संस्थाहरुलाई डोको वितरण गरिएको छ। बाँस र निगालोबाट स्थानीयस्तरमा निर्माण गरिएका डोकोहरू डस्टबिनका रूपमा प्रयोग गर्दा फोहोर व्यवस्थापनमा सुधार हुने र प्लास्टिक मुक्त क्षेत्र निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
वडा नम्बर १ का अध्यक्ष खेमबहादुर घर्तीमगरले फोहोर व्यवस्थापनका लागि डस्टबिनका रूपमा बाँसको डोको प्रयोगले स्थानीय स्रोत साधनको उपयोग र बजार प्रवर्द्धनमा योगदान पुग्ने बताए। उनका अनुसार, यस्ता सामग्री नागरिकहरूले सजिलै प्रयोग गर्न सक्ने भएकाले सरसफाइ अभियान थप प्रभावकारी हुनेमा विश्वस्त छन्।
यसअघि पनि छिडीखान क्षेत्रका व्यवसायीलाई फोहोर व्यवस्थापनका लागि यस्तै डोको वितरण गरिएको थियो। डस्टबिनका रूपमा डोको प्रयोगले वातावरणीय संरक्षणमा सहयोग गर्नुका साथै फोहोर व्यवस्थापनमा स्थानीय समुदायलाई सचेत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
परियोजनाको यस कदमले वातावरणीय संरक्षण, प्लास्टिक प्रदूषण न्यूनीकरण, र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत समग्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।