पर्सा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयानका क्रममा वीरगञ्जमा उनका समर्थकहरूले व्यापक प्रदर्शन गरेका छन्। सानोपाइला सहकारीको रकम अपचलन आरोपमा अनुसन्धानका लागि पर्सा पुर्याइएका लामिछानेको सरकारी वकिल कार्यालयमा बयान जारी छ।
बयानका दौरान बाहिर लामिछानेका समर्थकहरूले विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका छन्। “राजनीतिक प्रतिशोध बन्द गर”, “रवि लामिछानेलाई न्याय दे”, र “जनता झुक्काउन पाइँदैन” लेखिएका प्लेकार्डसहित कार्यकर्ताहरूले विरोध र्याली गरेका छन्। समर्थकहरूले यो प्रदर्शनलाई राजनीतिक हस्तक्षेपविरुद्धको संघर्षका रूपमा व्याख्या गरेका छन्।
सानोपाइला सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध पर्सा जिल्ला अदालतले मंसिर १९ गते पक्राउ पुर्जी जारी गरेको थियो। अनुसन्धानका क्रममा उनलाई काठमाडौं, चितवन, बुटवल हुँदै पर्सा पुर्याइएको हो। बयान सकिएपछि लामिछानेलाई पुन: कास्की लैजाने तयारी गरिएको छ।
लामिछानेको गिरफ्तारी र यसप्रति समर्थकहरूको आक्रोशले यो मुद्दालाई झन् पेचिलो बनाएको छ। राजनीतिक पक्षपात र प्रतिशोधको आरोपले घटनाले राष्ट्रिय तहमा बहस निम्त्याएको छ।