
धनगढीः देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा देखिएको छ। तराई र उपत्यकाका धेरै स्थानहरूमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ।

यस्तो परिस्थितिले दैनिक जनजीवन, यातायात, र हवाई उड्डयनमा आंशिक असर पुर्याउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। हुस्सु र कुहिरोको प्रभावले सडकमा दृश्यता कम हुने सम्भावना भएकाले यातायातका साधन चलाउँदा विशेष सावधानी अपनाउन भनिएको छ।
आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य स्थानको मौसम सफा रहनेछ। राति कोशी, मधेस, र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
जलवायु परिवर्तनको प्रभावका कारण यस्ता मौसमी अवस्था बारम्बार देखिन थालेको विज्ञहरूले बताएका छन्। महाशाखाले यस प्रकारका परिस्थितिहरूलाई मध्यनजर गर्दै यात्रुहरूलाई यात्रा योजना सावधानीपूर्वक बनाउन सुझाव दिएको छ।



