
डोटी-मंसिर २९ गते किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा अन्तर्गत जोरायल इकाई भेला भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता सहकारीका संचालक समितिका सदस्य सरोज कुमार शाहले गरेका थिए भने प्रमुख अतिथि जोरायल गाउँपालिका–३ का वडा अध्यक्ष नवीन ओझा रहेका थिए। कार्यक्रममा जोरायल इकाईका सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रमुख अतिथि ओझाले सहकारीलाई समुदायको आर्थिक विकास र आत्मनिर्भरताको प्रमुख आधारका रूपमा चित्रण गर्दै सदस्यहरूलाई सहकारीका उद्देश्यअनुरूप लाभ लिन र सामूहिक पहिचानका लागि एकजुट हुन सुझाव दिए। सभापति शाहले सहकारीको उद्देश्य, उपलब्धि, र भविष्यका योजनाहरूको बारेमा प्रष्ट पार्दै सहकारीप्रति विश्वास राख्न र सकारात्मक योगदान गर्न आग्रह गरे।
सहकारीले दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै शिक्षा क्षेत्रमा योगदान पुर्याएको छ। साथै, पाँच जना उत्कृष्ट सेयर सदस्यलाई सम्मानपत्र र पुरस्कार प्रदान गरिएको छ।
किसान बहुउद्देश्यीय सहकारीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै करिब ८६ हजार सेयर सदस्यलाई सेवा दिइरहेको छ।


