
डोटीको सायल गाउँपालिका वडा नम्बर ५ खनखेत–चौडिकलाई जोड्ने झोलुङ्गे पुलको अभावमा स्थानीय बासिन्दाले वर्षौंदेखि अत्यधिक कष्ट सहँदै आएका छन्। सायलिगाढ नदी पार गर्न वर्षातमा तुइन र हिउँदमा काठेपुलको सहारामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ, जसले जनजीवन थप कठिन बनाएको छ।
स्थानीय युवा चेतराज खड्काका अनुसार, विशेष गरी स्कुले बालबालिकालाई नदी वारपार गरेर विद्यालय जान दैनिक समस्या हुने गरेको छ। “साना-तिना आवश्यकताका लागि समेत नदी वारपार गर्नुपर्दा ज्यानकै जोखिम मोल्नुपर्छ,” उहाँले भन्नुभयो।

पुल अभावकै कारण गत वर्ष खनखेतका विशाल खड्काका पाँच वर्षीय छोरा दिपेश खड्काको नदीले बगाएर ज्यान गएको घटना स्मरण गर्दै स्थानीय पूर्णबहादुर खड्काले यस्तो दुःखद घटनाले यहाँका सबैलाई स्तब्ध बनाएको बताउनुभयो।

यस क्षेत्रमा पुल निर्माणको माग वर्षौंअघिदेखि उठ्दै आएको भए पनि स्थानीयका समस्या कुनै पनि सरकारी निकायले सम्बोधन गर्न सकेका छैनन्। पूर्व वडा सदस्य खड्गबहादुर खड्काले चुनावताका नेताहरूले पुल निर्माणका आश्वासन दिए पनि व्यवहारमा ती प्रतिबद्धता पूरा हुन नसकेको गुनासो गर्नुभयो।
सायल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष बहादुर साउदका अनुसार, झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकाको सीमित बजेटले सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारसँग बारम्बार सिफारिस गरिँदा पनि हालसम्म कुनै पहल भएको छैन।
स्थानीय बासिन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापनको अभियान ठोस कार्यान्वयनमा सीमित रहनु नहुने भन्दै चाँडै झोलुङ्गे पुल निर्माण गरिनुपर्ने माग गरेका छन्। “पुल निर्माणको आश्वासनमा सीमित नेताका वाचाले अब हाम्रो पिडा सम्बोधन गर्न सक्दैन,” स्थानीयहरू भन्छन्।
यदि पुल निर्माणको लागि तत्काल ठोस कदम चालिएन भने सायलिगाढको जोखिमले स्थानीय बासिन्दाको दैनिकीमा झनै गम्भीर समस्या थपिने निश्चित देखिन्छ। यस क्षेत्रको दिगो विकासका लागि राज्यको ठोस प्रतिबद्धता र प्रभावकारी कदम आवश्यक देखिएको छ।



