डोटी – डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्यकथा सुन्ने र सुनाउने पर्वका रूपमा लिइने ‘पुसे १५’ आज सुदूरपश्चिममा विशेष उत्साहका साथ मनाइँदैछ।

यो पर्वमा विशेष गरी रातभर जाग्राम बसेर आगो ताप्ने, चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड, पाकेको फर्सी उसिनेर खाने प्रचलन छ। साथै, गाउँभरि जम्मा भएर आपसमा कथा, दन्त्यकथा र रोचक प्रसंग सुनाउने चलनले यो पर्वलाई थप मनोरञ्जनात्मक बनाउने गरेको छ।

‘पुसे १५’ डोटेली समुदायको मौलिक संस्कृतिको अभिव्यक्ति हो, जसले आपसी एकता र सम्बन्धलाई बलियो बनाउँने बिश्वास गरिन्छ।
यसैगरी, गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्। नयाँ वर्षको सुरुवातका रूपमा मनाइने यो पर्वमा आफन्त र प्रियजनसँग रमाइलो गर्ने परम्परा छ। गुरुङ समुदायले ‘ल्होसार’लाई नयाँ ऊर्जा र उमंगको पर्वका रूपमा लिन्छन्।



