
डोटीको सायल गाउँपालिका वडा नम्बर २ र ४ जोड्ने पक्की पुल नहुँदा स्थानीय बासिन्दाले हिउँद र वर्षायाममा निकै कठिनाइ भोग्नुपरेको छ। विशेष गरी सायल–२ र ३ का जनताले वर्षातमा दुईदेखि तीन महिना यातायात सेवाबाट बञ्चित हुनुपर्छ। वडा नम्बर २ का अध्यक्ष मानबहादुर सिंहका अनुसार, “वर्षायाममा गाडी चल्न नसक्दा स्थानीय बासिन्दा झनै कष्टकर जीवन बिताउन बाध्य छन्।”
प्रदेश र संघीय चुनावमा नेताहरूले पक्की पुल निर्माणका लागि प्रतिबद्धता जनाए पनि अहिलेसम्म ठोस पहल हुन सकेको छैन। “नेताहरू चुनावको बेला मात्र आश्वासन बाँड्न आउँछन्, तर पुल कहिले बन्छ भनेर हेर्न बाँकी छ,” अध्यक्ष सिंहले गुनासो गर्नुभयो।


सायल गाउँपालिकाको बजेटले पक्की पुल बनाउन नसक्ने भएपछि प्रदेश र संघीय सरकारसमक्ष पटकपटक सिफारिस र निवेदन पेश गरिएको छ। तर, राज्यले यसलाई सम्बोधन गरेको देखिएको छैन।
सायल–२ र ३ का करिब १२ सय घरपरिवार वर्षायाममा निकै सास्ती खेपिरहेका छन्। गाडीको पहुँच नहुँदा उनीहरू पैदल यात्रा गरी आवश्यक सामग्री जोहो गर्न गाउँपालिकाको केन्द्रमा पुग्न बाध्य छन्।
प्रदेश सभा सदस्य चक्र मल्ल, स्थानीय सरकारका अध्यक्ष धर्मराज जोशी र उपाध्यक्ष निर्मला ओलीसमेत पक्की पुल निर्माणका लागि सिंहदरबारसम्म धाइरहेको बताइन्छ। तर, राज्यले यो विषयलाई प्राथमिकतामा नराखेको स्थानीयको गुनासो छ ।



