
काठमाडौं।हमासले इजरायल आक्रमणको क्रममा कब्जा गरिएका थप ३४ बन्दी रिहा गर्ने तयारी गरिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बन्दीहरूको सूचीमा १ देखि ८५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्।

इजरायलस्थित नेपाली दूतावासले भने उक्त सूचीमा नेपालका विपिन जोशीको नाम नरहेको पुष्टि गरेको छ। नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सूचीमा १० महिला, ११ जना ५० देखि ८५ वर्षका पुरुष, र यसअघि हमासले मृत्यु भएको भनिएका केही बालबालिकाहरू रहेका छन्।

हमासले यो सूची इजरायल सरकारलाई बुझाइसकेको दाबी गरे पनि इजरायलले औपचारिक रूपमा कुनै पुष्टि गरेको छैन।
हमासले ७ अक्टोबर २०२२ मा इजरायलमा गरेको आक्रमणका क्रममा १,२०० भन्दा बढीको मृत्यु भएको थियो। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। गाजामा युद्धविराम र बन्धक रिहाइका लागि वार्ता जारी रहेको र त्यसैको हिस्साको रूपमा बन्दीहरूको रिहाइ प्रक्रिया अघि बढाइएको बताइएको छ।



