
अत्तरिया। कैलाली जिल्लाको गोदावरी नगरपालिका–११ ओलानीस्थित श्री सरस्वती माध्यमिक विद्यालयका शिक्षक श्री कोमलबहादुर ओलीद्वारा रचित संस्मरणात्मक कृति ‘जीवन यात्राका सम्झना’ को भव्य विमोचन कार्यक्रम सोमबार सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीज्यूले कृतिको विमोचन गर्नुभयो। अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजना र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्रवर्द्धनमा सम्पन्न यो कार्यक्रमको सभापतित्व पुस्तकालयका अध्यक्ष श्री पुष्पराज जोशीले गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा डोटीका पूर्व सांसद यज्ञराज पाठक, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्रबहादुर ऐर, गोदावरी नगरपालिका वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता श्री गोपालदत्त भट्ट, नेपाल प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष श्री जगन्नाथ जोशी, साविक घण्टेश्वर गाविसका पूर्व अध्यक्ष श्री गमबहादुर ओलीलगायतको उपस्थिति रहेको थियो।

विमोचित कृतिको संक्षिप्त समीक्षा साहित्यकार श्री निर्मलकुमार भण्डारीले गर्नुभयो। कृतिकार श्री कोमलबहादुर ओलीले आफ्नो स्वागत मन्तव्यमा कृति लेखनको प्रेरणा र यसमा समावेश संस्मरणहरूको महत्त्वबारे चर्चा गर्नुभयो। कार्यक्रम सञ्चालन पुस्तकालय कार्यसमिति सदस्य श्री नरेन्द्रराज शर्माले गर्नुभएको थियो।
नेपाल सरकार स्वास्थ्य विभागका सेवानिवृत्त चिकित्सक डा. यज्ञराज पाठक, समाजसेवी श्री उत्तमबहादुर कठायत, श्री दामोदर रिजाल, श्री सुरतबहादुर कार्की, श्री धर्मराज भट्ट, श्री हरिप्रसाद ओझा, र राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष श्री लिलाधर बास्कोटालगायत साहित्यप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री अमितप्रसाद भट्टले बेलौरी नगरपालिकाको शैक्षिक बुलेटिन र स्थानीय पाठ्यक्रम सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई उपहारस्वरूप प्रदान गर्नुभएको थियो।
झण्डै १०० जना साहित्यप्रेमीहरूको सहभागितामा सम्पन्न यो कार्यक्रमले साहित्यिक क्षेत्रमा सकारात्मक सन्देश दिएको छ। विमोचन कार्यक्रम अपेक्षाकृतरूपमा भव्य र सभ्यरूपमा सम्पन्न भएको आयोजकले जानकारी गराएका छन्।
