
देशको पश्चिम क्षेत्रमा आज (बुधबार) राति पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने र त्यसको प्रभावले बिहीबार रातिसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, बागमती र कोसी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा पनि हिमपात हुन सक्ने सम्भावना छ।
महाशाखाले यी क्षेत्रमा शुक्रबारबाट मौसममा सुधार हुने अनुमान गरेको छ।
