
सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको आयोजनामा र नेपाली लेखक संघ डोटीको सहकार्यमा आगामी माघ अठार गते डोटीको सिलगढीमा अन्तर्राष्ट्रिय बहुभाषिक संगोष्ठी हुने भएको छ।
कार्यक्रममा नेपाल र भारतका प्रतिष्ठित साहित्यकारहरूको उपस्थिति रहनेछ। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीका अनुसार, कार्यक्रममा विभिन्न भाषामा साहित्यिक संवाद र विचारविमर्श हुनेछ।

संगोष्ठीमा सुदूरपश्चिममा साहित्यिक पत्रकारिताको अवस्था र त्यसका चुनौतीहरूबारे पनि बिमर्श हुनेछ। आयोजकले यस कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मातृभाषाहरूको अवस्था र विकासका बारेमा विशेष कार्यपत्रहरू प्रस्तुत हुने जानकारी दिएका छन्। साथै, लोक सांस्कृतिक प्रस्तुतिहरू पनि कार्यक्रमको हिस्सा हुनेछन्।
डा. जोशीले बहुभाषिक अन्तर्राष्ट्रिय संगोष्ठी सुदूरपश्चिममा पहिलो पटक आयोजना हुन लागेको बताए। यसका साथै, डोटेली, अछामी, राना-थारू, बैतडेली, बझाङ्गी र कुमाउनी भाषाको अवस्था विषयक महत्वपूर्ण कार्यपत्रहरू प्रस्तुत गरिने जानकारी दिइएको छ।
सुदूरपश्चिमका नौ वटै जिल्लाका साहित्यिक पत्रकार, भाषाविद्हरू, स्रष्टाहरू, लेखकहरू, संस्कृतिकर्मी र जनप्रतिनिधिहरूको पनि सहभागिता रहने कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको नेपाली लेखक संघका अध्यक्ष फणेन्द्र साउँदले बताए।
कार्यक्रमको उद्घाटन सुदूरपश्चिमका प्रदेश प्रमुखले गर्ने तय गरिएको छ। यो अन्तर्राष्ट्रिय साहित्यिक संगोष्ठी माघ १८ गते बिहान १०:३० बजे सिलगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना हुनेछ। प्रतिष्ठानले शुभेच्छुक र सरोकारवालाहरू समेतलाई कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरेको छ।



