
डोटी । डोटीकोबशिखर नगरपालिका-४मा रहेको गौशालाको व्यवस्थापन विषयलाई लिएर उपमेयर सुनिता जोरा रावल र गौशालाका जिम्मेवार हरिप्रसाद बिनाडीबीच विवाद उत्पन्न भएको छ। नगरपालिकाले बिनाडीलाई गौशालाको जिम्मेवारी दिए पनि उनले आवश्यक पारिश्रमिक र सहयोग नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।
बिनाडीका अनुसार उनलाई गौशालाका लागि आठ लाख रुपैयाँ दिने भनिए पनि तीन लाख मात्रै दिइएको थियो, जुन पराल खरिदमै सकिएको थियो। नगरपालिकाले दुई जना गोठाला दिने भनेको भए पनि उपलब्ध नगराइएकाले उनले एक्लै गाई पालन गर्न नसक्ने भन्दै नगरपालिकामै गाईबस्तु ल्याएर छोडेका थिए।

बिनाडीले नगरपालिकाको निर्देशनअनुसार काम गरे पनि सम्झौताअनुसार पारिश्रमिक र आवश्यक स्रोतसाधन नपाएको गुनासो गरेका छन्। उपमेयर रावलले उनलाई प्रहरी चौकी लगेर थुन्ने धम्की दिएको आरोप पनि उनले लगाएका छन्। बिनाडीका अनुसार उपमेयरले “तपाईंलाई यी गाई नगरपालिका ल्याएर छोड्ने अधिकार कसले दियो? अब घर गए हुन्छ, मैले अर्को मान्छे खोजिसकेको छु,” भनेकी थिइन्।

तर उपमेयर रावलले भने आफूले धम्की नदिएको दाबी गर्दै “६०-७० वर्षको बुढो मान्छे हुनुहुन्छ, मैले थर्काएको होइन। गाई नगरपालिका ल्याएर छोड्ने अधिकार छैन, त्यसैले फिर्ता जान भनेको हुँ,” प्रतिक्रिया दिएकी छन्।
मंगलबार नगरपालिकाले नयाँ गौशाला निर्माणका लागि ५ लाख ८७ हजारको अनुमानित बजेट तयार पार्ने निर्णय गरेको छ। नगरपालिकाले अब गौशाला सञ्चालनको जिम्मा नयाँ व्यक्तिलाई दिने निर्णय गरेको छ।
सोमबार बिनाडीले छोडेका गाई मंगलबार राति उपमेयर जोरासहित तीन महिलाको टोलीले धुर्कोट, वडा नं. ४ मा लगेर छोडेको स्थानीयले बताएका छन्। गाई छोड्दा स्थानीय र नगरपालिकाका प्रतिनिधिबीच सामान्य विवाद समेत भएको थियो।
धुर्कोटमा गाई छोडिएपछि किसानका खेतीबालीमा क्षति पुगेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। गाई कसले पाल्ने भन्ने विषयमा अहिलेसम्म टुंगो लाग्न सकेको छैन। यस विषयमा टुंगो लगाउन माघ २४ गते नगरका प्रतिनिधिहरू छलफल गर्ने वडा नं. ४ का अध्यक्ष टेक बहादुर मल्लले जानकारी दिएका छन्।



