

गत असोज २० गते हमासको आक्रमणबाट इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका थिए । सोही क्रममा एक जना नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशी दस महिनादेखि बेपत्ता छन् । यस बिचमा उनका परिवारले पटक पटक प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर विपिनको सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरे । प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली युवा विपिन जोशीलाई बन्धक बनाएर लगेको भनिएको १० महिना बित्दा समेत उनको अवस्थाबारे नेपाल सरकार बेखबर छ ।विपिनलाई हमास समूहले बन्धक बनाएर राखेको भनिए पनि अहिलेसम्म उनको अवस्था अज्ञात छ ।
गत असोज २० मा हमासको आतंकवादी आक्रमणबाट १० नेपाली युवासहित १ हजार १ सय ३९ जनाको इजरायलमा मृत्यु भएको थियो । त्यसै क्रममा हमास लडाकुले इजरायली र विदेशी गरी २ सय ५२ लाई बन्दी बनाएर लगेका थिए । मंसिर पहिलो साता बन्धक र कैदी साटासाट हुने गरी इजरायल र हमासबीच भएको अस्थायी युद्धविरामका क्रममा हमासले २२ विदेशी नागरिकसहित १ सय ५ जनालाई रिहाइ गरेको थियो । तर विपिनलाई रिहा गरिएन । हमासले बन्दी बनाएर लगेको भनिएको १० महिना बितिसक्दा समेत उनको रिहाइको बारेमा कुनै ठोस काम हुन सकेको छैन ।यता परिवार भने विपिनको रिहाईको आसमा सरकारको बाटो कुरेर बसेका छन ।
