
डोटी । डोटीको बडीकेदार गाउँपालिका-१ का ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्चलाइट वितरण गरी सम्मान गरिएको छ। बुधबार वडा कार्यालय रिसेडीमा आयोजित औपचारिक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको जानकारी दिइन्।

कार्यक्रममा उपाध्यक्ष कलेलले चिसो मौसममा न्यानो प्रदान गर्ने उद्देश्यले कम्मल तथा राति आवतजावत गर्न सहज होस् भन्ने हेतुले टर्चलाइट वितरण गरिएको बताइन्। साथै, गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायत विभिन्न सम्मान कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनले उल्लेख गरिन्।

जिल्ला समन्वय समिति डोटीका सदस्य ठक्कर बोहराले पालिकाले ज्येष्ठ नागरिकप्रति देखाएको सम्मान प्रशंसनीय रहेको बताउँदै, यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। वडा नम्बर १ का अध्यक्ष डबल बोहराले ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै, सरकारले प्रदान गर्ने विभिन्न सुविधाहरू उनीहरूले आफैंले स्वास्थ्यको लागि उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
बडीकेदार गाउँपालिकाले वडा नम्बर १ बाट सुरु गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम क्रमशः अन्य वडाहरूमा पनि सञ्चालन गरिने जनाएको छ। बुधबारको कार्यक्रममा १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति सदस्य, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो।



