
काठमाडौं – नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उचित उपयोग गरेर आर्थिक विकासलाई तीव्रता दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले आज काठमाडौंमा आयोजना गरेको “नेपाल-चीन सम्बन्ध र नेपालको आधुनिक विकास” विषयक छलफल कार्यक्रममा उनीहरूले विश्व राजनीति फरक ढाँचाले अघि बढिरहेको अवस्थामा छिमेकी राष्ट्रहरूसँग आर्थिक सम्बन्ध सुदृढ गर्न आवश्यक रहेको बताए।

संस्थाका अध्यक्ष शोभित उप्रेती, सूचना प्रविधि विज्ञ वसन्त वन, अर्थविद् डा. केशव बस्याल, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली लगायतका वक्ताहरूले छिमेकी मुलुकहरूको विकास मोडल अध्ययन गरी नेपालले पनि त्यसअनुसार आफ्नै विकास मोडल तयार गर्नुपर्ने आवश्यकता औंल्याए।

वक्ताहरूले सूचना प्रविधि, सडक पूर्वाधार, विद्युत्, ट्रान्समिसन, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा नेपालले छिमेकी मुलुकहरूको सहयोग लिनुपर्नेमा विशेष जोड दिए।
छिमेकी मुलुकहरूसँग सम्बन्ध सुदृढ पार्न आपसी भेटवार्ता, द्विपक्षीय भ्रमण, सुरक्षा र आर्थिक चासोका विषयमा सजग रहनुपर्ने उनीहरूको धारणा थियो।



