
कैलाली ।कैलालीको गौरीगंगा नगरपालिका–६, मोयास्थित भैरव प्राथमिक विद्यालयमा हेमा श्री फाउन्डेसन नेपालले अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा रातो सदन प्रथम, पहेँलो सदन दोस्रो, सेतो सदन तेस्रो र निलो सदनले सान्त्वना स्थान हासिल गरेका थिए।
बिजयी विद्यार्थीहरूलाई शैक्षिक सामग्री र प्रमाणपत्र प्रदान गरिएको उक्त प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा गौरीगंगा नगरपालिकाका उप–प्रमुख भोज बहादुर बम प्रमुख अतिथि रहनुभएको थियो।


समारोहलाई सम्बोधन गर्दै उप–प्रमुख बमले विद्यार्थीहरूलाई पाठ्यक्रमसँगै अतिरिक्त ज्ञान आर्जनमा टेवा पुग्ने यस्ता कार्यक्रमहरूको निरन्तरताको आवश्यकतामा जोड दिनुभयो। उहाँले आयोजक तथा विजेता विद्यार्थीहरूलाई बधाई दिँदै भविष्यमा पनि विद्यार्थीहरूको शैक्षिक स्तर वृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो।
कार्यक्रमका संयोजक तथा फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले प्रतियोगिताले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन र बौद्धिक क्षमता वृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि वडा अध्यक्ष टेक बहादुर कुँवरले विद्यार्थीहरूको सहभागीता नै महत्वपूर्ण भएको बताउनुभयो। कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सत्यराज जोशीले गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
हेमा श्री फाउन्डेसनले विगतदेखि सामाजिक कार्य र बालबालिकाको संरक्षणमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।



