
टिकटक र फेसबुकमा मौलिक लोकगीत गाएर चर्चित बनेकी राधिका बादीको निधन भएको छ। ४२ वर्षीया राधिकाको आइतबार बिहान कालिकोटको पलाता गाउँपालिका-४, थिरपुमा निधन भएको हो।
कालिकोट प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार, राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन्। उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला उनको घरमै निधन भएको पुष्टि गरिएको छ।


राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका-२ का बासिन्दा हुन्। यो जोडी परम्परागत लोकगीत गाएर जीविकोपार्जन गर्दै आएका थिए। विशेष गरी राधिकाको मादल बजाउने कला विशिष्ट मानिन्थ्यो।
उनले मादल बजाउँदै गाएको ‘नशा नशामा रगत रगतमा…’ बोलको गीत सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय बनेको थियो। यो भिडियो बाजुराका पत्रकार प्रकाश सिंहले खिची सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। सरल जीवनशैली, लोकभाकाप्रतिको समर्पण र कला प्रदर्शनले उनलाई धेरैको मन मुटुमा बस्न सफल बनाएको थियो।
राधिकाको असमायिक निधनले कला क्षेत्र र उनका प्रशंसकहरूमा शोक छाएको छ। सामाजिक सञ्जालमा उनका गीत र भिडियोहरू अहिले पनि व्यापक रूपमा हेरिइरहेका छन्। धेरैले उनको कला र संघर्षमय जीवनप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
राधिका बझाङकी स्थायी बासिन्दा थिइन्। जोगेन्द्रसँग दोस्रो विवाह गरेपछि उनी बाजुरामा बस्दै आएकी थिइन्। जोगेन्द्रको पहिलो श्रीमती अहिले पनि घरमै छिन्।



