
काठमाडौं – नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा जारी राजनीतिक संकटलाई मध्यनजर गर्दै रिभर्स राज्यमा संकटकाल घोषणा गरेका छन्।

संकटकाल घोषणासँगै रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र राज्य सभाका सबै निर्वाचित सदस्यहरूलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। समाचार संस्था एएफपीका अनुसार, यस राजनीतिक गतिरोधका कारण सशस्त्र समूहहरूले राज्यका तेल प्रतिष्ठानहरूलाई निशाना बनाउने चेतावनी दिएका थिए।

पछिल्लो दुई दिनमा केही तेल प्रतिष्ठानहरूमा आक्रमण भएको रिपोर्ट छ। नचिनेका समूहहरूले यी आक्रमणहरू गरेको बताइए पनि कसैले जिम्मेवारी लिएको छैन। राष्ट्रपति टिनुबुले सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गरेपछि आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएको बताए।
राष्ट्रपतिले राज्यको प्रशासन सम्हाल्न सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई नियुक्त गरेका छन्। टिनुबुले संकटकालीन निर्णयले रिभर्स राज्यमा शान्ति तथा स्थायित्व पुनःस्थापना गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।-एजेन्सी



