जोरायल गाउँपालिकाद्वारा ‘महिला सँग उपाध्यक्ष’ अभियान सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी- जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराको अगुवाइमा लैङ्गिक हिंसा, बालविवाह, लागुपदार्थ दुर्व्यसन तथा हानिकारक सामाजिक मूल्यमान्यता विरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘महिला सँग उपाध्यक्ष’ अभियान सञ्चालन गरिएको छ। गाउँपालिका उपाध्यक्षको संयोजनमा विभिन्न वडाहरूमा अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।

वडा नम्बर १ मा चैत ४ गते, वडा नम्बर २ मा चैत ५ गते, वडा नम्बर ३ मा चैत ६ गते तथा वडा नम्बर ५ मा चैत ८ गते कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष बोहराले महिलाहरूले भोगिरहेका सामाजिक अन्याय, हिंसा तथा विभेदका विरुद्ध एकजुट भएर आवाज उठाउनु पर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, महिलालाई कानुनी ज्ञान र आत्मनिर्भर बन्ने अवसर प्रदान गरे मात्र वास्तविक सशक्तीकरण सम्भव छ। अब हिंसा सहने होइन, कानुनी रूपमा लड्ने समय आएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा सहभागी महिलाहरूले आफूमाथि हुने हिंसा तथा विभेदका विषयमा खुलेर छलफल गरेका थिए। उनीहरूले न्यायिक समितिको पहलबाट आफूहरूमा आत्मविश्वास बढेको अनुभव सुनाउँदै पहिले आफ्ना पीडा लुकाउनु पर्थ्यो, तर अहिले न्यायिक समितिले न्याय दिने विश्वास दिलाएको साथै अब मौन बस्ने समय नरहेको बताए ।

यसै अभियान अन्तर्गत जोरायल गाउँपालिका वडा नम्बर ४ र ६ मा छाउपडी प्रथाको अन्त्य गर्ने उद्देश्यले छाउपडी गोठ भत्काउने परिवारका महिलाहरूलाई कम्बल वितरण गरिएको थियो। उपाध्यक्ष बोहराले छाउपडी उन्मूलनका लागि महिलाहरू स्वयं अगाडि आउनुपर्ने बताउँदै भन्नुभयो, छाउपडीजस्ता कुरीतिहरूले महिलाको स्वास्थ्य, आत्मसम्मान र सुरक्षामा गम्भीर असर पार्छन्। यो प्रथा अन्त्य गर्न महिलाहरू नै बलियो भएर अघि बढ्नुपर्छ। गाउँपालिकाले यसका लागि निरन्तर साथ दिनेछ।

कार्यक्रममा सहभागी महिलाहरूले गाउँपालिकाले लैङ्गिक समानता तथा हिंसा निवारणका लागि चालेको कदमलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने माग गरेका छन्। सहभागी महिलाहरुले पहिले आफ्नो आवाज कसैले नसुन्ने गरेको तर अहिले गाउँपालिकाले उनका कुरा सुनिरहेको बताउँदै यस्ता कार्यक्रमले आत्मबल प्रदान गरेको बताए।

उपाध्यक्ष जमुना बोहराको अगुवाइमा सञ्चालन भएको ‘महिला सँग उपाध्यक्ष’ अभियानमार्फत महिलाहरूलाई कानुनी शिक्षा, अधिकार र सामाजिक चेतनाको ज्ञान प्रदान गरिएको छ। महिलाहरूको सशक्तीकरण तथा हिंसामुक्त समाज निर्माणका लागि यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने स्थानीय तहका प्रतिनिधिहरू बताएका छन।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.