
अत्तरिया– सुदूरपश्चिमको भाषा, कला, संस्कृति संरक्षण तथा सामाजिक सेवामा योगदान पुर्याउँदै आएको सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्चले आफ्नो २१औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
वि.सं. २०६० मा स्थापना भएको उक्त मञ्चले सीमित स्रोत, साधन र समयका बाबजुद भाषा, कला, संस्कृतिको संरक्षण, समाजसेवा, शिक्षा र स्वास्थ्यका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै सामाजिक सेवा प्रदान गर्दै आइरहेको छ। सोही अनुरूप भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुका साथै श्रष्टाहरूलाई सम्मान गर्दै अरूमा पनि प्रेरणा जागृत गराउने कार्यलाई निरन्तरता दिँदै आएको छ।


कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए। सो अवसरमा समाजसेवी डण्डीराज जोशीद्वारा स्थापित डण्डीराज भागरथी आदर्श सम्मान–२०८१ समाजसेवी दीर्घराज भट्टलाई प्रदान गरियो। त्यस्तै, वरिष्ठ साहित्यकार एवं सुदूरपश्चिम साहित्य समाजका संस्थापक अध्यक्ष यज्ञराज यात्री र समाजसेवी तथा संस्कृति प्रेमी चन्द्रसिंह बडैलालाई सम्मान गरियो।
डण्डीराज जोशीद्वारा स्थापित डण्डीराज भागरथी समाजसेवा पुरस्कार–२०८१ दृष्टि फाउण्डेसनका संस्थापक एवं सञ्चालक समाजसेवी कल्पना भट्टलाई प्रदान गरिएको थियो। सञ्चारकर्मी स्व. हेम मल्लको स्मृतिमा स्थापित हेम मल्ल स्मृति आमञ्चार पुरस्कार–२०८१ भाषासेवी सुभाष संकल्प भण्डारीलाई प्रदान गरिएको थियो। परिमल स्नेही राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ भने स्व. हरिशचन्द्र कडायतलाई (मरणोपरान्त) प्रदान गरिएको थियो।
कार्यक्रम मञ्चका अध्यक्ष लालबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिका रूपमा गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्ट रहेका थिए। आमन्त्रित अतिथिहरूमा प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी प्रभात, साहित्यकार टी.आर. पाठक, गोदावरी नगरपालिकाका पूर्व लेखा अधिकृत रामचन्द्र जोशी, समाजसेवी डण्डीराज जोशी लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा संस्थाको २१औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार, अध्यक्षमा लालबहादुर खड्का, उपाध्यक्षमा देवराज भट्ट, सचिवमा डिल्लीराज जोशी, कोषाध्यक्षमा हरिशंकर जोशी, सह–सचिवमा लेखराज जोशी चयन भएका छन् भने सदस्यहरूमा गणेशबहादुर कडायत, सुरेन्द्र संगम, कमला भण्डारी भाट र जानकी कडायत रहेका छन्। नयाँ कार्यसमितिले संस्थाको लक्ष्य र उद्देश्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।



