
एजेन्सी -इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल गत वर्षको विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रॉयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच कोलकातास्थित इडन गार्डेन्स रंगशालामा हुनेछ। टस केहीबेरमै हुनेछ भने नेपाल समयअनुसार साँझ ७:४५ बजे खेल सुरु हुनेछ।

आईपीएल इतिहासमा केकेआरले आरसीबीविरुद्ध राम्रो प्रदर्शन गर्दै आएको छ। अहिलेसम्म भएका ३५ खेलमध्ये केकेआरले २१ पटक जित हात पारेको छ भने आरसीबीले १४ खेल मात्र जित्न सकेको छ। इडन गार्डेन्समा दुवै टोली १२ पटक आमनेसामने हुँदा केकेआरले ८ पटक जित हात पार्दा आरसीबीले ४ पटक मात्र जितेको छ।
यस सिजन केकेआरको कप्तानी श्रेयस अय्यर बाहिरिएपछि अनुभवी अजिंक्य रहाणेले सम्हालेका छन्। टोलीमा आन्द्रे रसेल, रमन्दीप सिंह, वेंकटेश अय्यर जस्ता विश्वस्तरीय अलराउन्डरहरू रहेका छन् भने बलिङतर्फ वरुण चक्रवर्ती, स्पेन्सर जोनसन, वैभव अरोरा, हर्षित राणा जस्ता उत्कृष्ट बलरहरू छन्। आरसीबी सधैं बलिङमा कमजोर देखिँदै आएको भए पनि यसपटक टोलीमा जोश हेजलउड र भुवनेश्वर कुमार जस्ता अनुभवी बलरहरू थपिएका छन्। तर टोलीसँग अनुभवी स्पिनरको अभाव छ, जहाँ क्रुणाल पाण्ड्या नै मुख्य स्पिनर रहनेछन्। आरसीबीको कप्तानी रजत पाटीदारले सम्हाल्नेछन्।
इडन गार्डेन्सको पिच ब्याटिङमैत्री मानिन्छ। यहाँ भएका ९३ आईपीएल खेलमध्ये पहिलो ब्याटिङ गर्ने टोलीले ३८ पटक जित्दा लक्ष्य पछ्याउने टोलीले ५५ पटक जित निकालेको छ। अहिलेसम्मको उच्चतम टिम स्कोर २६२ रन रहेको छ, जुन पन्जाब किंग्सले गत वर्ष कोलकाताविरुद्ध बनाएको थियो। आईपीएल २०२५ को रोमाञ्चक सुरुवातसँगै आजको खेलमा कोलकाताले आफ्नो दबदबा कायम गर्नेछ कि आरसीबीले नयाँ इतिहास बनाउनेछ, त्यो हेर्न बाँकी छ।



