
डोटी – बजार बन्दको अवसरलाई सदुपयोग गर्दै भागेश्वर अटोरिक्सा प्रणालीले सडक मर्मत गरेको छ।

दिपायल पक्की पुलदेखि एयरपोर्टसम्म करिब २२ जना अटोरिक्सा चालकहरूले मिलेर सडकका खाल्डाखुल्डी पुरेका छन्। यातायात असहज हुँदा बाध्य भएर ३ ट्राली टेक्टर माटो छर्केर तत्कालका लागि बाटो मर्मत गरिएको भागेश्वर अटोरिक्सा प्रालिका सचिव प्रदीप बोगटीले बताएका छन्।

सचिव बोगटीका अनुसार करिब ४५ सय लगानी तथा श्रमदान सहित सामाजिक कार्य गरिएको छ। यसअघि, भागेश्वर अटोरिक्सा प्रालिका पदाधिकारीहरूले दुर्घटना न्यूनीकरणका लागि कुलपाते–राजपुर सडक खण्डमा समेत मर्मतसम्भार गरेका थिए।
उद्योग वाणिज्य संघ डोटीले हरेक महिनाको १० र २५ गते बजार बन्द गर्दै आएको छ। यही समयलाई सदुपयोग गर्दै भागेश्वर अटोरिक्साले दिपायल सिलगढी नगरपालिकाभित्र सडकमा भएका खाल्डाखुल्डी टालेर प्रेरणादायी काम गर्दै आएको छ।



