
डोटी -भारतको विभिन्न स्थानमा रहेर मजदुरी पेशामा संलग्न डोटी जिल्लाको सायल गाउँपालिका–४, श्री भवानी भल्मा एकता समाजका सदस्यहरूले पीडामा परेका एक परिवारलाई आर्थिक सहयोग संकलन गरेका छन्।
स्वर्गीय शंकर बोगटीको मृत्यु पश्चात शोकमा रहेको परिवारलाई मलमपट्टी होस् भन्ने पवित्र उद्देश्यले उक्त सहयोग रकम संकलन गरिएको समाजका अध्यक्ष कृष्ण बहादुर बोगटीले जानकारी दिनुभयो। एक महिनादेखि सञ्चालन गरिएको आर्थिक सहयोग अभियानबाट कुल रु ३लाख ७८ हजार८ सय५४ संकलन गरिएको हो।


यसैबीच, बोगटी एकता युवा समाज, सायल गाउँपालिका–५ मतेलीका अभियन्ता घनश्याम बोगटी र कृष्ण बोगटीको संयुक्त पहलमा थप रु ५०हजार८० संकलन गरिएको छ। साथै, सिराकाला कल्याणकारी कोषबाट रु १ हजार ६सय र समाजसेवी जंगबहादुर खड्का, टेकबहादुर खड्का तथा मानबहादुर खड्काको संयुक्त अभियानबाट रु २० हजार ५सय६९ संकलन भएको छ।
यसरी जम्मा रु ४ लाख ५० हजार ७ सय ३ नेपाली रुपैयाँ सहयोग रकम संकलन भएको हो।‘दिन पुगोस्, खान पुगोस’ भन्ने भावना बोकेर संकलन गरिएको उक्त रकम स्वर्गीय शंकर बोगटीकी आमा कमला बोगटीलाई अठोट खबरका सह-सम्पादक तेजबहादुर डुम्रेलले सायल–४ स्थित घंगारे गाउँमै पुगेर हस्तान्तरण गर्नुभयो।
श्री भवानी भल्मा एकता समाज, सम्बन्धित अभियन्ता र सबै सहयोगदाताप्रति पीडित परिवारले हार्दिक धन्यवाद प्रकट गरेको छ।



