
डोटी – मानवता, सेवा र एकताको सन्देश बोकेको सन्त निरंकारी मिशनले विश्वव्यापी रक्तदान अभियान अन्तर्गत दिपायलमा रक्तदान शिविर सम्पन्न गरेको छ।
सन्त निरंकारी मिशन दिपायल शाखाको आयोजनामा दिपायल सिलगढी नगरपालिका–४, विद्युत रोडस्थित शाखा भवनमा सम्पन्न रक्तदान शिविर बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डडेलधुरा सत्संग इन्चार्ज बिमल जैरु रहनुभएको थियो भने कार्यक्रमको आर्थिक संयोजन पदम सोपले गर्नुभएको थियो। उहाँका अनुसार सन्त निरंकारी मिशनले आज विश्वका विभिन्न देशहरूमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ।

शिविरमा नितेश सोप, पदम स्वर्णकार, अनिल सोप, धनबहादुर रोकाया, सुस्मा तामाङ सिजापति र पवित्रा नेपालीजस्ता स्वयंसेवकहरूले उत्साहपूर्वक रक्तदान गरेका छन्। सहभागीहरूको यो सक्रियता मानवसेवाप्रति समर्पणको ज्वलन्त उदाहरण बनेको छ।
दिपायल शाखा प्रमुख कैलास बागचनले संकलित रगत राजपुर डोटीस्थित सुजङ अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिनुभयो। उहाँले संस्थाले स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।
रक्तदान शिविरप्रति कृतज्ञता व्यक्त गर्दै सुजङ अस्पतालका ल्याब इन्चार्ज मोहन कठायतले भन्नुभयो, “सन्त निरंकारी मिशनको यो प्रयास अत्यन्तै सराहनीय छ। यस्तो प्रकारका कार्यक्रमले अस्पतालमा रगतको अभावमा परेका बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्दछन्।”
मानव एकता र परोपकारको मूल मर्म बोकेको यस संस्थाले हरेक वर्ष सामाजिक र मानवसेवा मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।



