
डोटी,– डोटीको शिखर नगरपालिका–८ मा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट १४० जना वृद्धवृद्धाहरूले सेवा लिएका छन्। मंगलबार सामाजिक सुरक्षा भत्ता बुझ्न बैंक आएका सेवाग्राहीहरूलाई लक्षित गरी स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिएको हो।
शिविर शिखर नगरपालिका–१० स्थित शहरी स्वास्थ्य केन्द्र बन्लेख र बलायर क्लिनिकको सहकार्यमा सञ्चालन गरिएको थियो। क्लिनिकका सञ्चालक तथा स्वास्थ्य केन्द्र प्रमुख दिपक बलायरका अनुसार वृद्धवृद्धाहरूलाई रक्तचाप, मधुमेह (सुगर) परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको हो।


“धेरैजसो मानिसहरूलाई आफूलाई कुन रोग लागेको छ भन्ने नै थाहा हुँदैन। समयमै स्वास्थ्य परीक्षण नभएकै कारण ज्यान गुमाउने अवस्था आइरहेको छ,” बलायरले भने, “त्यसैले वृद्धवृद्धाहरूका लागि लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।”
शिविरको उद्घाटन शिखर नगरपालिका–८ का वडाध्यक्ष लालबहादुर महराले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष महराले यस्तो खालको स्वास्थ्य शिविर वृद्धवृद्धाका लागि निकै उपयोगी भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।
शिविरमा शिखर नगरपालिकाका ११ वटै वडाबाट सामाजिक सुरक्षा भत्ता बुझ्न आएका सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिएका थिए। वृद्धवृद्धालाई लक्षित यस्तो स्वास्थ्य शिविर डोटी जिल्लामा नौलो अभ्यासका रूपमा हेरिएको छ।



