
डोटी — जोरायल गाउँपालिका वडा नं. ४ को आयोजनामा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। सुरुमा वैशाख १८ र १९ गतेका लागि निर्धारित प्रतियोगिता मौसमको प्रतिकूलताका कारण निर्धारित समयमा सम्पन्न हुन नसकी आज २० गते सम्पन्न गरिएको हो।
प्रतियोगितामा पालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने छवटा टिमहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १ नं. वडा कार्यालय, मणिपुर गैरा पहिलो स्थान हासिल गर्दै प्रतियोगिताको विजेता बन्न सफल भयो। ६ नं. वडा कार्यालय, निरौली खसरे दोस्रो, ५ नं. वडा कार्यालय, खहडा गडसेरा तेस्रो र ३ नं. वडा कार्यालय, रावतकट्टे सान्त्वना स्थानमा रहेका छन्।


विजेता टिमहरूलाई क्रमशः १८ हजार, १२ हजार, ८ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
वडा अध्यक्ष नवराज भट्टका अनुसार प्रतियोगिताले स्थानीय युवा–युवतीहरूमा खेलकुदप्रतिको उत्साह वृद्धि गर्नुका साथै वडास्तरीय खेल गतिविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, स्थानीय तहमा आपसी सहकार्य, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ।
पानीका कारण खेल एक दिन पर सरे पनि सहभागी टिमहरू तथा दर्शकहरूको उत्साह उच्च रहेको आयोजक समितिले जनाएको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पक्षलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।



