
डोटी, — ‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव’ भन्ने नारासहित नेपाल पत्रकार महासंघ डोटी शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वास्थ्य परीक्षण, आँखा जाँच तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
शनिबार सिलगढीस्थित जिल्ला अस्पताल डोटीमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरूको रक्तचाप, मधुमेह, मृगौला समस्या तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जस्ता स्वास्थ्य परीक्षणहरू गरिएका थिए। जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुजित मण्डलका अनुसार पत्रकारहरूको नियमित स्वास्थ्य परीक्षणले दीर्घकालीन स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।


त्यस्तै, नेपाल नेत्र ज्योति संघ शिखर उपशाखाको प्राविधिक सहयोगमा पत्रकारहरूको आँखा परीक्षण समेत गरिएको थियो। उपशाखा प्रमुख सुजल चौधरीका अनुसार नियमित आँखा परीक्षणले आँखासम्बन्धी समस्या मात्र होइन, समग्र स्वास्थ्यको सूचकका रूपमा समेत काम गर्छ।
जिल्लामा रगतको अभाव भइरहेकै बेला नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा डोटीको सहकार्यमा सञ्चालित रक्तदान कार्यक्रमले रक्तसञ्चार सेवालाई टेवा पुग्ने विश्वास लिइएको छ। रक्त सञ्चार सेवा डोटीका प्रमुख हरीष खड्काका अनुसार पत्रकारहरूको योगदान प्रेरणादायी रहेको छ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी, पत्रकार र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गरे। उनले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि पत्रकारहरू अझै पनि दण्डहीनता, धम्की, आक्रमण र विस्थापनको समस्यामा परेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।
अध्यक्ष बमले सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नु पत्रकारहरूको धर्म भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए। साथै, विभिन्न समयमा प्रेस स्वतन्त्रता आन्दोलनमा योगदान पु-याउने सबैप्रति श्रद्धा व्यक्त गर्दै कार्यक्रममा सहयोग गर्ने स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, नेपाल नेत्र ज्योति संघ र नेपाल रेडक्रस सोसाइटीप्रति आभार व्यक्त गरे।



