
कञ्चनपुर -कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, भीमबस्तीकी क्यान्सर पीडित चन्द्रकुमारी खाती (बयाडी)लाई २ लाख ८७ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
भारतमा रहेका नेपाली समुदायसँग समन्वय गर्दै समाजसेवी तथा प्रवासी अभियन्ता खगेन्द्र विष्टद्वारा सञ्चालन गरिएको सहयोग अभियानमार्फत संकलित रकम सामाजिक अभियन्ता लक्ष्मी वोगटी कुवरले मंगलबार एक औपचारिक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन्।

गम्भीर रोगसँग संघर्ष गरिरहेकी चन्द्रकुमारीको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भइरहेको थियो। यो अवस्थालाई मध्यनजर गर्दै विष्टले सहयोग संकलनको पहल गरेका थिए।

रकम हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शुभेच्छुकलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा पीडितका श्रीमान् लाल बयाडीले सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै संकटको घडीमा दिएको साथले परिवारलाई ठूलो राहत मिलेको बताए।
सामाजिक अभियन्ता वोगटी कुवरले युवाहरूले मानवीय सेवामा पुर्याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर साथ रहने प्रतिबद्धता जनाइन्।
यसअघि पनि समाजसेवी विष्टले विभिन्न प्राणघातक रोगबाट पीडित तथा जङ्गली हात्तीको आक्रमणमा परेर घाइते भएकाहरूलाई समेत सहयोग संकलन गरी उपचार सहयोग पुर्याउँदै आएका छन्।



