
डोटी — आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत जोरायल गाउँपालिकाले दुर्गम बस्तीसम्म सेवा पुर्याउने उद्देश्यसहित सञ्चालन गरेको तीनदिने घुम्ती सेवा शिविर आइतबार सम्पन्न भएको छ। शिविर जोरायल गाउँपालिका वडा नं. ४ खैगाड, वडा नं. ५ गड्सेरा र वडा नं. ६ खसरेमा क्रमशः वैशाख २६, २७ र २८ गते सञ्चालन गरिएको थियो।
शिविरमार्फत सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी विभिन्न शाखाहरूबाट सेवा प्रदान गरिएको थियो। स्वास्थ्य सेवातर्फ २सय८७ जनाले डाक्टर तथा स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य परीक्षण, ल्याब परीक्षण तथा औषधि वितरण सेवा दिएको थियो। पशु सेवा शाखाबाट २सय४६ जनालाई आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि औषधि वितरण गरिनुका साथै प्राविधिक सल्लाह दिइएको थियो। त्यसैगरी कृषि शाखाबाट ३सय१० जनालाई तरकारी बीउ, जैविक विषादी वितरण गरी प्राविधिक सल्लाह प्रदान भएको छ ।


यसका अतिरिक्त आयुर्वेद शाखाबाट १सय७७ जनाले प्राकृतिक उपचार सेवा प्राप्त गरे भने महिला, बालबालिका तथा लैङ्गिक सेवा अन्तर्गत १ जनाले लक्षित सेवा प्रापत गरेकाछन। साथै, अपाङ्गता भएका ३ जनालाई सेवा प्रदान गरिनुका साथै परिचयपत्र वितरण गरिएको छ, जसले सेवा समावेशीकरणमा गाउँपालिकाको प्रतिबद्धता देखाएको छ।
शिविरमा उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, विभिन्न शाखाका प्राविधिक कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, जनप्रतिनिधि लगायतको सक्रिय उपस्थिति रहेको थियो।
गाउँपालिका उपाध्यक्ष जमुना बोहराले भन्नुभयो, “जनताको घरदैलोमै सेवा पुर्याउने हाम्रो अभियान अन्तर्गत सञ्चालन गरिएको घुम्ती सेवा शिविरले दुर्गम क्षेत्रका जनतालाई राज्यको सेवा प्रत्यक्ष रूपमा अनुभूति गराउने अवसर दिएको छ। स्वास्थ्य, कृषि, पशु सेवा, आयुर्वेद तथा सामाजिक सेवा जस्ता बहुआयामिक सुविधालाई एकै थलोमा पु¥याउनु हाम्रो सेवा प्रवाहको पहुँच र प्रभावकारिताको नमुना हो।”
उहाँले थप्नुभयो, “स्थानीयवासीहरूको उत्साहजनक सहभागिता, सेवाबाट देखिएको सन्तुष्टि र नागरिकको अनुहारमा देखिएको खुसीले हामीलाई अझ जिम्मेवार र सेवा–मुखी बन्न प्रेरित गरेको छ।साथै यस्ता शिविर अगामी बर्षपनी संचालन गरिने र शिविरलाई सफल बनाउन समर्पित सम्पूर्ण कर्मचारी, प्राविधिक टोली, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, जनप्रतिनिधि र सेवाग्राहीहरूप्रति गाउँपालिकाको तर्फबाट म हार्दिक आभार व्यक्त गर्दछु।”



