
डोटी, जोरायल — स्थानीय तहका कर्मचारीहरूको सेवा प्रभावकारिता र मनोबल वृद्धि सुनिश्चित गर्न सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहहरूले “स्थानीय सेवा गठन तथा सञ्चालन ऐन” तत्काल जारी गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

यसै क्रममा जोरायल गाउँपालिका–३ डोटीले पठाएको औपचारिक पत्रमा स्थानीय तहहरूमा अहिलेसम्म पनि स्थायी दरबन्दी अभावमा करार, अस्थायी वा परियोजना माध्यमबाट कर्मचारी परिचालन हुँदै आएको उल्लेख गरिएको छ। यसले सेवा प्रवाहमा अस्थायीत्व सिर्जना गर्दै आएको र नागरिकको जनअपेक्षा अनुसारको सेवा दिन कठिनाइ भएको वडाको भनाइ छ।

वडा अध्यक्ष नवीन ओझाका अनुसार, “स्थायीत्वविनाको सेवा प्रणालीले जनअपेक्षाअनुसारको उत्तरदायित्व पूरा गर्न सक्दैन। अब स्थानीय तहमा स्थायी संरचना र सेवा ऐन आवश्यक छ, जसले कर्मचारीको मनोबल बढाउनुका साथै जनसेवा प्रभावकारी बनाउनेछ।”
सुदूरपश्चिमका अन्य स्थानीय तहहरूले पनि यस्तै आशयका पत्रमार्फत प्रदेश सरकारलाई ऐन तत्काल जारी गर्न आह्वान गरेका छन्। सामूहिक रूपमा उठाइएको यो मागले स्थानीय तहमा दिगो, उत्तरदायी र गुणस्तरीय सेवा सुनिश्चित गर्न ऐनको कार्यान्वयन अपरिहार्य भएको स्पष्ट पारेको छ।



