
कैलाली — नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिव तथा युवा नेता हेमन्त राज जोशी ‘बाजे’ले आफ्नो जन्मदिनको अवसरमा गौरीगंगा नगरपालिका–६ मा अवस्थित दुई विद्यालयका ३० जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गरेका छन्।
बिहीवार सम्पन्न कार्यक्रममा उनले जन्मदिनको फजुल खर्चलाई सेवामुखी कार्यमा रुपान्तरण गर्दै शैक्षिक सहयोग प्रदान गरेका हुन्। “शिक्षा मानिसको ज्योति हो। बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा प्रेरित गर्न र सेवाको भावनालाई मूर्त रूप दिन यो सानो प्रयास गरेको हुँ,” नेता जोशीले बताए।


हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्षसमेत रहेका जोशीले वितरण कार्यक्रममार्फत जुपिटर एकेडेमी नेपालका १५ र कैलाली भिजन स्कुलका १५ जना गरी दुबै विद्यालयका ३० जना विद्यार्थीलाई कापी, कलम र झोला प्रदान गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले जन्मदिनको शुभकामना दिँदै धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा हेमा श्री फाउन्डेसन नेपालकी कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवर, जुपिटर एकेडेमी नेपालका प्राचार्य मणिराम धामी, सहायक प्राचार्या महेश्वरी जोशी, कैलाली भिजन स्कुलका संस्थापक पूर्ण बम, अमर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर कुँवर, शिक्षक–शिक्षिका तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै प्राचार्य धामीले शिक्षा क्षेत्रमा युवा नेता हेमन्त जोशीको सक्रियता उदाहरणीय रहेको बताउँदै यस्ता कार्यले बालबालिकामा शिक्षाप्रति आकर्षण र आत्मबल बढाउने उल्लेख गरे।



