
धनगढी – गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ ऐनको विरोधमा सुदूरपश्चिमसहित देशभरका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। ऐनअनुसार रातो नम्बर प्लेट भएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारीसाधनले यात्रु ओसारपसार गर्न पाउने व्यवस्था गरिएको छ, जसको तीव्र विरोध भइरहेको छ।
नेपाल यातायात व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले आइतवार (जेठ १८) देखि लामो दूरीका सवारीसाधन ठप्प पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार व्यवसायीहरूले विरोधस्वरूप सवारीसाधनमा कालो झण्डा राख्ने र चालक तथा कर्मचारीहरूले कालो पट्टी बाँध्ने कार्यक्रम सुरु गरिएको छ।


व्यवसायीहरूले सोमबार (जेठ १९) देखि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प पार्ने घोषणा गरेका छन्। उनीहरूको भनाइमा निजी सवारीसाधनलाई सार्वजनिक सवारीसरह यात्रु ओसारपसारको अनुमति दिनु व्यवसायीहरूको व्यवसायमाथि ठुलो प्रहार हो। संयोजक जोशीले प्रदेश सरकारले सार्वजनिक सवारीको सञ्चालन, आयात र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति ल्याउनुपर्ने माग समेत गर्नुभएको छ।
उहाँले भन्नुभयो, “राज्यलाई लाखौँ रूपैयाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधनलाई राज्यले नै धराशायी बनाउन खोजिरहेको छ।”
व्यवसायीहरूले गण्डकी प्रदेश सरकारसँग विगतमा भएका सहमति तथा सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। माग पुरा नभए देशभर सार्वजनिक यातायात सेवा पूर्णरूपमा ठप्प पारिने चेतावनी समेत दिइएको छ।



