
डोटी, –भारतको प्रतिष्ठित दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबाट “कैलाली जिल्लाको सन्दर्भमा महिला उद्यमशीलताका समस्या र सम्भावनाहरू” शीर्षकमा विद्यावारिधि (Ph.D.) उपाधि हासिल गर्न सफल कैलाली बहुमुखी क्याम्पस, धनगढीका उप–प्राध्यापक डा. घनश्याम भट्टलाई जोरायल गाउँपालिका–६, खसरे र गावरमा सोमबार एक कार्यक्रमका बीच सम्मान प्रदान गरिएको छ।
साविक निरौली गाविस–८ मा जन्मनुभएका डा. भट्टको यस गौरवमय सफलतालाई गाउँपालिका, वडा कार्यालय र स्थानीय बासिन्दाहरूले जिल्लाकै शैक्षिक, सामाजिक र प्राज्ञिक गरिमा बढाउने उपलब्धिका रूपमा लिँदै कदरपत्र, शुभकामना र सम्मानमार्फत सम्मान गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भन्नुभयो,“हाम्रो गाउँ–ठाउँबाट डा. उपाधि हासिल हुनु अत्यन्तै गर्वको कुरा हो। डा. भट्टजस्तो अध्ययनशील, जिम्मेवार र समाजप्रति समर्पित व्यक्तित्वले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान अत्यन्त प्रेरणादायी छ। पालिकाले उहाँजस्ता व्यक्तित्वहरूको सल्लाह, सहकार्य र मार्गदर्शनमा स्थानीय स्तरको शैक्षिक सुधारमा निरन्तर काम गर्दै जानेछ।”

कार्यक्रममा सम्मानित डा. घनश्याम भट्टले आफ्नो गहिरो भावनात्मक भनाइ राख्दै जन्मथलो प्रतिको प्रेम र प्रतिबद्धता प्रकट गर्नुभयो। उहाँले भन्नुभयो,
“गाउँको माटो, हावा र मान्छेहरू मेरो जीवनको प्रेरणा हुन्। यही ठाउँमा मेरो बाल्यकाल बित्यो, यहीँको स्कूलमा पढेर म आज यहाँसम्म आइपुगेको हुँ। यो ठाउँले दिएको आधार र विश्वासले नै मलाई अघि बढ्न ऊर्जा दियो। त्यसैले म जन्मथलोको शिक्षामा जुनसुकै प्रकारको लगानी गर्न सधैं तयार छु।”
उहाँले थप भन्नुभयो,“शिक्षा परिवर्तनको सबैभन्दा बलियो हतियार हो। गाउँमा शिक्षा फैलिन सके मात्र अन्य विकास सम्भव हुन्छ। मेरो गाउँबाट उच्च शिक्षाको लागि जान चाहने २ जना विद्यार्थीलाई म प्रत्येक वर्ष पूर्ण छात्रवृत्तिमा पढाउने व्यवस्था मिलाउनेछु। जहाँबाट म हुर्किएँ, त्यहीँ फर्केर केही योगदान गर्न पाउनु मेरो लागि गर्वको कुरा हो।”
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहरा, वडा नं. ६ का अध्यक्ष गणेश बहादुर बोहरा, पालिकाका अन्य पदाधिकारीहरू, स्थानीय बुद्धिजीवी, शिक्षक, समाजसेवी, अभिभावक र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले डा. भट्टको अनुसन्धान, शिक्षण र सामाजिक सेवामा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै उहाँको उत्तरोत्तर प्रगति तथा सक्रिय उपस्थितिका लागि शुभकामना प्रकट गरेका थिए।
उक्त अवसरमा डा. भट्टलाई दोसल्ला सम्मानपत्र, माला, खादा र गाउँवासीको तर्फबाट आत्मीय वातावरणमा उच्च सम्मान प्रदान गरिएको थियो।



