
हेमन्त बाजे
बाजुरा, जेठ ९- बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारका आगलागी पीडितहरूलाई खाद्यान्न तथा नगद राहत सामग्री प्रदान गरिएको छ। गत जेठ २३ गते तोयराज न्यौपानेको पसलमा ग्यास पड्किएर लागेको आगोले १३ वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका थिए।
देश–विदेशमा रहेका नेपाली तथा विभिन्न संस्थाहरू—हेम माया फाउन्डेसन, दिदीबहिनी फाउन्डेसन, अमर क्षेत्री फाउन्डेसन, इशा फाउन्डेसन लगायतको सहकार्यमा संकलित सहयोग रकमबाट पीडितहरूलाई राहत वितरण गरिएको हो। अभियन्ता ज्वाला संग्रौला र लक्ष्मी बोगटी कुँवरको संयुक्त पहलमा बाम्का बजारमै एक कार्यक्रमको आयोजना गरि राहत सामग्री हस्तान्तरण गरिएको हो।

सहयोग संकलनका लागि चलाइएको १० दिनको अभियानमार्फत दुई लाख रुपैयाँभन्दा बढी बराबरको राहत सामग्री संकलन गरिएको र पीडितहरूलाई वितरण गरिएको कुँवरले जानकारी दिनुभयो।
राहत वितरण कार्यक्रममा बोल्दै पीडित रामबहादुर ऐडीले दुःखद घडीमा सहयोगी भावना देखाउने सबैमा आभार प्रकट गरे। राहत संकलन समिति संयोजक क्षेत्रबहादुर थापाले देश–विदेशमा रहेका सहयोगी व्यक्ति र संस्थाले व्यापारी हितमा खेलेको भूमिका अतुलनीय भएको बताउँदै सहयोगले मात्र नभई पीडितलाई मनोबल समेत बढाएको बताए।
समाजसेवी तथा अभियानकर्ता ज्वाला संग्रौलाले एक परिवारलाई नगद रु ५२ हजारसहित चामल, दाल, न्यानो ओढ्ने ब्लाङ्केट, बट्टा, तेल, डसिना लगायतका खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रदान गरिएको जानकारी दिनुभयो।
राहत वितरणपछि पीडितहरू खुसी व्यक्त गर्दै सहयोग अभियानप्रति कृतज्ञता प्रकट गरेका थिए।


