
धनगढी, असार १४ – धनगढी उपमहानगरपालिका–५ मा कैलाश टोल विकास संस्थाको आयोजनामा महिलाहरूका लागि एक महिने सिलाई–कटाई तालिम सम्पन्न भएको छ। सिप तथा व्यवसायिक विकास कार्यक्रम अन्तर्गत आयोजित उक्त तालिम वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो।
जेठ १० गतेदेखि सुरु भएको तालिम असार १० गतेसम्म तारानगरस्थित अत्री गार्मेन्टमा सञ्चालन गरिएको थियो। तालिममा १५ जना महिलाहरूले सिलाई–कटाईसम्बन्धी सीप सिकेका छन्।

तालिम समापन कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष कृष्णराज भट्टको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा धनगढी उपमहानगरपालिका–५ का कार्यवाहक वडाध्यक्ष दत्तुराम पाण्डेय प्रमुख अतिथिका रूपमा सहभागी थिए। विशिष्ट अतिथिमा कार्यपालिका सदस्यहरू यसोदा भण्डारी र माया ताम्राकार रहनुभएको थियो। वडा सचिव भमरा कुमारी क्षेडाल तथा सामाजिक परिचालिका सम्झना भण्डारी पनि अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए।
कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकार, पदाधिकारी तथा स्थानीय टोलवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वागत मन्तव्य संस्थाका सल्लाहकार देवराज पाण्डेयले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन कोषाध्यक्ष युवराज जोशीले गरेका थिए।
उक्त तालिमले महिलाहरूमा आत्मनिर्भरता र सीपमार्फत् व्यवसायिक संभावनाको बाटो खोल्ने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।



