
काठमाडौं — देशभर मौसमी प्रणाली सक्रिय रहेकाले सोमबार रातिसम्म विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही भागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आइतबार राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। ती प्रदेशहरूका पहाडी भूभागमा वर्षा जारी रहनेछ भने अन्य केही भागहरूमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

सोमबार पनि मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।
साथै ती प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने हुँदा सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानहरूमा तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत महाशाखाले जनाएको छ।
भीषण वर्षाका कारण बाढी, पहिरो र डुवानको जोखिम हुन सक्ने भएकाले महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


