
हेमन्त बाजे, मसुरिया (कैलाली)
गौरीगंगा नगरपालिका–९, शंकरपुरस्थित महादेव माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ।
विदेशमा रहेकी सामाजिक अभियन्ता रञ्जिता आरतीको पहलमा हेमा श्री फाउन्डेसनमार्फत झोला वितरण गरिएको हो। फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त बाजे र कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको रोहबरमा वितरण कार्यक्रम सम्पन्न भएको हो।

रोजगारीको सिलसिलामा विदेशमै रहेकी आरतीले आफ्नो जन्मदिन भोजभतेरमा खर्च नगरी सामाजिक कार्यमा लगाउने निर्णय गरेकी हुन्। उनले भनिन्, “जन्मदिनमा भोजभतेर गर्नुभन्दा विपन्न विद्यार्थीलाई पढाइमा प्रोत्साहन दिन पाउनु निकै ठूलो खुसी हो।”
महादेव माविमा अध्ययनरत गरीब, जेहेन्दार र अति विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै गरिएको उक्त सहयोगले विद्यार्थीहरूलाई पढाइमा थप मनोबल मिल्ने अपेक्षा गरिएको छ।
झोला वितरण कार्यक्रममा विद्यालयका संस्थापक सदस्य चक्र कलेल, शिवशंकर सामुदायिक वन समूहका अध्यक्ष बलबहादुर बोहरा, पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य मानबहादुर पुन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस किसिमको सामाजिक सहयोगलाई सकारात्मक अभ्यासको रूपमा लिए। उनीहरूले अन्य व्यक्तिहरूलाई पनि यस्तै प्रेरणादायी कार्यमा लाग्न आग्रह गरेका थिए।


