
हेमन्त बाजे
कैलाली, मसुरिया
कैलालीको गौरीगङ्गा नगरपालिकामा रहेको गौरीगङ्गा–११ स्पोर्ट्स क्लबले विगत केही वर्षदेखि स्थानीय खेलकुद र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। क्लबले २०७४ सालदेखि सुदूरपश्चिमस्तरिय फुटबल प्रतियोगिता गौरीगङ्गा गोल्डकप र जय पृथ्वी बहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फूटबल प्रतियोगिता जस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ र पाँचौं संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने हाल छैठौं संस्करणको तयारीमा रहेको क्लबले जनाएको छ।
सामाजिक क्षेत्रमा पनि क्लब सक्रिय रहेको छ। क्लबका अनुसार, १३ पटक रक्तदान कार्यक्रम सञ्चालन गरेको, कोभिड–१९ को पहिलो लहरमा ३२० विपन्न तथा अपाङ्ग परिवारलाई खाद्यान्न वितरण गरेको, क्वारेन्टिनमा बसेकाहरूलाई ११/१२ दिनसम्म जुस र खाजा वितरण गरेको, कोरोनाको दोस्रो लहरमा ३८ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको साथै मास्क वितरण र सचेतना कार्यक्रम पनि सञ्चालन गरेको थियो। यसका अतिरिक्त दुईपटक वृक्षारोपण कार्यक्रम, जिल्ला र प्रदेश स्तरमा महिला तथा पुरुष खेलाडी छनोटको कार्यक्रम व्यवस्थापन, बजार सरसफाइ, अपाङ्गलाई व्हीलचियर वितरण र प्रहरी पोस्ट निर्माणजस्ता सामाजिक कामहरू क्लबले निरन्तर गर्दै आएको छ।
यसै क्रममा क्लबले खेलमैदानमा स्थायी मञ्चको आवश्यकता महसुस गर्दै चौथो संस्करण अगाडि मञ्च निर्माणको प्रस्ताव अघि सारेको क्लबका अध्यक्ष दिनेश कलेल बताउँछन्। कलेलले भने, “२०८० सालमा आयोजना भएको प्रदेश खेलाडी छनौट कार्यक्रममा प्रमुख अथिति रूपमा नगर प्रमुख ज्यु आउनु भएको थियोे!त्यस कार्यक्रम हामीले गौरीगङ्गा नगरपालिका प्रमुख देबिदत्त कँडेललाई मञ्च निर्माणको आवश्यकता बताउँदै सहयोगको अनुरोध गरेको थिएँ। नगरप्रमुख कँडेलले सार्वजनिक रूपमा बजेट दिउला भनेर भन्नुभयो।

कलेलका अनुसार,नगर प्रमुख र तत्कालीन सामाजिक बिकास मन्त्री झपट साँउदको आश्वासन पछि क्लबले २/३ भित्रै वडा नं. ८ का अध्यक्ष करुणा चौधरीको उपस्थितिमा मञ्चको सिलान्यास गरेको थियो। वडा कार्यालयका प्राविधिकहरूको सहयोगमा लागत अनुमान तयार गरी करिब २० दिन भित्रै रु १७ लाख ८३ हजारको लागतमा मञ्च निर्माण सम्पन्न भयो र चौथो र पाँचौं राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन सोही मञ्चबाट गरिएको उनले बताए।
तर,अहिलेसम्म सो लागत रकम नगरपालिका र प्रदेश सरकार बाट निकासा नभएको क्लबले जनाएको छ। अध्यक्ष कलेल भन्छन्, “नगरप्रमुखको निर्देशनमा सुरु गरेको काम अहिले निकासा नहुँदा आर्थिक भार क्लबमाथि आएको छ। कर्मचारीहरूले प्राविधिक विवरण नभएको र सम्झौता नभएको कारण देखाउँदै पन्छिएका छन् भने वडाध्यक्ष पनि आफूसँग स्रोत नभएको बताउँछन्।”
निर्माणमा संलग्न मजदुर र सामग्री आपूर्तिकर्ताहरूको भुक्तानी बाँकी रहँदा क्लब आर्थिक संकटमा परेको कलेलले बताए। हामीले पटकपटक सम्बन्धित निकायहरूलाई जानकारी गराएका छौं, तर कसैले ध्यान दिएको छैन। अब सहयोगका लागि हामीले व्यापारी, संघ–संस्था,सामुदायिक वन र देश–विदेशमा रहेका नेपालीहरूमा आशा राख्नुपर्ने भएको छ।
स्थानीय युवामा खेलकुदमार्फत सकारात्मक ऊर्जा जगाउने उद्देश्यले क्लबले निरन्तर काम गरिरहेको भए पनि, मञ्च निर्माणमा देखिएको उदासीनता र अनिश्चितताले आगामी योजनामा असर पर्ने खतरा बढाएको कलेलले बताए। उनले सम्बन्धित निकायले यस विषयमा तत्काल पहल गरी निर्माण लागतको उचित निकासा सुनिश्चित गर्नुपर्ने माग गरे।



