
डोटी-जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ। डोटी जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, लैङ्गिक हिंसा, लागू औषध नियन्त्रण, सेवा प्रवाह र सुशासन, उपभोक्ता हकहित संरक्षण, विकास निर्माणमा सहजीकरण, विपद् व्यवस्थापन तथा समग्र जिल्लाको सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित कार्यपत्र ना सु मीन बहादुर बोहराले प्रस्तुत गरेका थिए। 
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयबाट सेवा प्राप्त गर्दा देखिएका समस्याहरू, संचालित विकास आयोजनाबाट उत्पन्न गुनासो तथा समाधानका उपायहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतको सक्रिय उपस्थिति रहेको थियो।

सार्वजनिक महत्वका विविध प्रश्नहरू कार्यक्रममा उठाइएका थिए। जसमध्ये राजपुरदेखि कुलपाते र जिल्ला अस्पतालदेखि मल्लो ढोकासम्म सडक भए पनि नाली नहुनु, पिपल्ला बजारमा सोलार प्यानल जडान भए पनि साँझ बत्ती नबलेको, नगरभित्रका सडकमा नाली सफाइ नहुनु, सिलगढी–बगलेक सडकमा नाली सफाइको अभाव, बगलेकमा समाजसेवी के.वि. साउदको पहलमा राखिएको झुला हराएको विषय, सेती सभाहलको कमजोर साउन्ड सिस्टम, सेती नदी किनारका जोखिमयुक्त बस्तीहरूमा साइरनको अभाव, दिपायल पक्की पुल नजिकै रहेको तरकारी संकलन केन्द्र प्रयोगमा नआएको, निजामती कर्मचारी आवासीय मा वि राजपुर थालामा निर्माण भएको तर संरक्षण नभएको, सार्वजनिक सवारी साधनले मनपरी भाडा लिने, विद्युत् आपूर्ति नियमित नहुनु, सातनालीमा पक्की पुल नहुँदा जनसाधारणले सास्ती खेप्नुपर्ने, साइड मिरर तोडफोड भए पनि संरक्षण नहुनु, बोरिङमार्फत पानी तान्ने योजना अलपत्र हुनु र भाइरल पुल संरक्षणको प्रतीक्षा जस्ता प्रश्नहरू प्रमुख रूपमा उठाइएका थिए।
प्रमुख जिल्ला अधिकारी जोशीले विभिन्न गुनासोहरूमध्ये केही विषयहरू तत्काल सम्बोधन गरिने र बाँकी विषयहरू सम्बन्धित निकायमा पठाई ध्यानाकर्षण गराइने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सहभागीहरूले संघीयता कार्यान्वयनपछि तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयको स्थानमा स्थापना गरिएको मुख्यमन्त्री सम्पर्क कार्यालय हाल नहुनु, कतिपय सवारी साधनहरूले क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्नु लगायतका विषय पनि उजागर गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह रहनुभएको थियो। उहाँले शनिबार समेत जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गरी जनमुखी काम गरेको भन्दै खुलेर प्रशंसा गर्नुभयो।सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले गर्नुभएको थियो।



