
डोटी, – जोरायल गाउँपालिका–२, बाजीलेक निवासी तथा सोही वडाका वर्तमान वडा अध्यक्ष वीर बहादुर दर्लामीका भाइ एवं रामपुर मावि बुडरका पूर्व विद्यार्थी दान बहादुर दर्लामी र उहाँकी धर्मपत्नी सुस्मा थापामगरका सुपुत्र प्रविन थापामगरको चौथो शुभ जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व स्वरूप विद्यालयमा अध्ययनरत सुस्त श्रवण बालबालिकालाई पोशाक तथा खाजानास्ता वितरण गरिएको छ।
सोमबार विद्यालयमा अध्ययनरत ५८ जना सुस्त श्रवण बालबालिकामध्ये ५३ जनालाई विद्यालय पोशाक अन्तर्गत निलो सुइटर र बाँकी ५ जनालाई सम्पूर्ण पोशाक (सर्ट, पाइन्ट, जुत्ता, मोजा, टाइ, बेल्ट, निलो सुइटर) सहित खाजानास्ता प्रदान गरिएको विद्यालयले जनाएको छ।

“छोराको जन्मदिनलाई सामाजिक रूपमा उपयोगी बनाउने उद्देश्यले यो सहयोग गरिएको हो,” दान बहादुर दर्लामीले बताए। “सानो सहयोगले पनि बालबालिकाको अनुहारमा मुस्कान ल्याउन सकिन्छ भन्ने सोचले यो कदम चालेका हौँ,” उनले थपे।
विद्यालयका प्रधानाध्यापक पदमराज भट्टले यस्ता सहयोगहरूले सुस्त श्रवण बालबालिकाको आत्मविश्वास बढाउने, उनीहरूलाई शिक्षामा थप आकर्षित गराउने र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
विद्यालयले दान बहादुर दर्लामी परिवारप्रति हार्दिक आभार प्रकट गर्दै जन्मदिनको अवसरलाई सामाजिक सेवामा रूपान्तरण गरेको यो प्रयास अरुका लागि पनि प्रेरणादायी हुने विश्वास व्यक्त गरेको छ। विद्यालय परिवारले बालक प्रविन थापामगरको उज्ज्वल भविष्य र दीर्घायुको कामना समेत गरेको छ।


