
धनगढी, -नेपाली भाषा, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती आज नेपाल तथा विदेशका विभिन्न स्थानमा विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू गरी उल्लासपूर्वक मनाइँदैछ।
रामायण जस्तो धार्मिक ग्रन्थलाई संस्कृतबाट नेपाली भाषामा अनुवाद गरी आम नेपाली जनताको पहुँचमा पुर्याउने कार्य गरेर नेपाली साहित्यमा विशेष पहिचान बनाएका भानुभक्तका कृति आज पनि नेपाली साहित्यका अमूल्य धरोहरका रूपमा लिइन्छन्।


दार्जिलिङ, सिक्किम लगायतका नेपाली भाषी क्षेत्रहरूमा पनि भानु जयन्ती विशेष श्रद्धा र उत्साहका साथ मनाउने परम्परा छ। यसै क्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा धनगढी, कैलालीमा पनि भानु जयन्ती विशेष कार्यक्रमका साथ मनाइँदैछ।
प्राज्ञिक उपकुलपति डा. टी.एन. जोशीका अनुसार, आज अपराह्न १२:३० बजे धनगढीको रातोपुलस्थित निर्माण व्यवसायी संघको सभा हलमा “साहित्यिक सांस्कृतिक उत्सव २०८२” को आयोजना गरिनेछ। कार्यक्रममा प्रादेशिक प्रतिभा पुरस्कार समर्पण, स्रष्टा सम्मान, कृति लोकार्पणजस्ता महत्वपूर्ण कार्यक्रमहरू समावेश गरिने छन्।
भानु जयन्तीको यस अवसरमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गरिने आयोजकहरूले जनाएका छन्।



