
सायल, डोटी — सायल गाउँपालिका वडा नम्बर ३ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण भेल्छडा झरनाको अवलोकन गर्दै युवाहरूको दुई समूहले शनिबारको विदालाई सार्थक बनाएका छन्।
बेटारा निवासी समाजसेवी टेकबहादुर बिष्टको व्यक्तिगत पहलमा गरिएको यो भ्रमणमा १५ जना युवाहरू सहभागी भएका थिए। जोखिम मोलेर ज्यानको बाजी लगाउँदै झरनासम्म पुगेका टोलीले नेपाली राष्ट्रिय झण्डा फहराउँदै स्थानीय पर्यटनको प्रवर्द्धनमा नयाँ संदेश दिएका छन्।

भ्रमणमा शिक्षक, विद्यार्थी, तथा विभिन्न क्लबमा आबद्ध स्थानीय युवाहरूको सहभागिता रहेको थियो। उनीहरूले झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले झण्डा फहराएर फोटो तथा भिडियोसमेत संकलन गरेका बताएका छन।
शिक्षक वसन्त रोकायाले भने, “यात्रा जोखिमपूर्ण भए पनि झरनाको दृश्यावलोकन गरेर हामी अत्यन्त हर्षित भएका छौं। यस्तो अपूर्व सौन्दर्य सायली भूमि आफैंमा गौरवको विषय हो।”
खप्तड क्षेत्रको इन्द्रेणी खोलाबाट बगेर बनेको भनिने यो झरनामा वर्षायाममा समेत इन्द्रेणी देखिने भएकाले यसलाई ‘भेल्छडा इन्द्रेणी झरना’ भनेर समेत चिनिने गरिएको छ।
एक पटक अवश्य पुग्नुपर्ने पर्यटकीय गन्तव्यका रूपमा यस झरनालाई प्रचारप्रसार गर्नुपर्नेमा स्थानीयहरू जोड दिन्छन्। आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्ने सम्भावना बोकेको भेल्छडा झरना अझै उचित व्यवस्थापन र प्रवर्द्धनको पर्खाइमा छ।



