नेपाल आइडल सिजन–६ को टप–१० मा पुगेका निरज विश्वकर्मालाई जिताउन अपिल, पत्रकार सम्मेलन मार्फत भोटको आग्रह


डोटी, २०८२ साउन ४ गते
नेपाल आइडल सिजन–६ को टप–१० मा स्थान सुरक्षित गरेका डोटीका युवा प्रतिभा निरज विश्वकर्मालाई जिताउन आइतबार सिलगढीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ४ निवासी १८ वर्षीय निरज विश्वकर्मा सुदूरपश्चिम प्रदेशको तर्फबाट नेपाल आइडलको लोकप्रिय र प्रतिस्पर्धात्मक मञ्चमा प्रतिस्पर्धा गरिरहेका छन्। आत्मविश्वासपूर्ण प्रस्तुति र साङ्गीतिक प्रतिभाले देश–विदेशमा रहेका सुदूरपश्चिमेली नेपालीहरुबाट उनले उल्लेखनीय साथ र समर्थन पाइरहेका छन्।
शुक्रबार साँझ टप–१० मा आफ्नो स्थान सुरक्षित गरेपछि अठोट खबरसँग कुरा गर्दै निरजले आफ्नो यात्रामा साथ दिइरहेकाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

पत्रकार सम्मेलनमा बोल्दै निरजका पिता प्रताप विश्वकर्माले भावुक हुँदै भने, “हामीलाई एउटा सपना जस्तै लागिरहेको छ। निरजको साङ्गीतिक यात्रालाई नेपाल आइडलको उपाधिसम्म पुर्याउन सबै नेपालीले साथ दिनुपर्छ।” उनले भोट गर्न अनुरोध गर्दै भने, “जबसम्म ट्रफी हातमा आउँदैन, निरन्तर मतदान गरौं।”
निरजलाई कसरी भोट गर्ने?
भोटिङ कोड: Ni-09नेपालभित्रबाट: eSewa प्रयोग गरी भोट गर्न सकिनेछ।नेपालबाहिरबाट: MoMo एपमार्फत भोट गर्न सकिनेछ।SMS मार्फत (NTC र Ncell दुवै): Ni-09 टाइप गरी 37000 मा पठाउने।
सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका निरजले साङ्गीतिक क्षेत्रमा आफैलाई प्रमाणित गरिरहेकाले सिङ्गो सुदूरपश्चिम र सम्पूर्ण नेपाली समाजका लागि प्रेरणाका स्रोत बन्न पुगेका छन्।


