
डोटी, साउन १० – जीवनका दुःखका क्षणहरूमा साथ दिन सक्नु नै सबैभन्दा ठूलो मानवता हो भन्ने उदाहरण बनेको छ – भल्मा एकता समाज चेन्नई। सायल गाउँपालिका–६ का दल बहादुर कटुवाललाई समाजले ८२ हजार रुपैयाँ आर्थिक सहयोग गरेर ‘संकटमा साथ’ दिएको छ।
गत असार ६ गते डोटीको आदर्श गाउँपालिका–१, धौलिमाटीमा जिप दुर्घटनामा परेर कटुवालकी धर्मपत्नी काली देवी कटुवालको असामयिक निधन भएको थियो। मेल्लेख जाँदै गर्दा दुर्घटनामा परेकी उनलाई तत्काल जिल्ला अस्पताल डोटी ल्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको थियो। काली देवीको माइतीघर सायल–४, भल्मा हो।

चार छोरीहरूकी आमा गुमेपछि दल बहादुर कटुवाल एक्लै बुबा बनेका छन्। आर्थिक अभाव, छोरीहरूको पालनपोषण र शिक्षाको चिन्ताले पीडामा रहेका कटुवाललाई सहयोग गर्न भारतको चेन्नईमा श्रम गरिरहेका भल्मेली नेपालीहरूले हात बढाए।

भल्मा एकता समाज चेन्नईले ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ ८२ हजार रुपैयाँ संकलन गरी समाजसेवी लालबहादुर बोगटीमार्फत नेपाल पठाएको हो। रकम हस्तान्तरणका क्रममा भल्मा समाज चेन्नईका सचिव उत्तम बोगटी (छत्र) पनि सहभागी थिए। उनले भने, “यो सानो सहयोग हो, आगामी दिनमा अझ सहयोग संकलन गरेर पठाउने योजना छ।”
समाजसेवी लालबहादुर बोगटीले भल्मा समाजको यो मानवीय कार्यलाई ‘सच्चा सामाजिक उत्तरदायित्वको उदाहरण’ बताएका छन्।
छोरीहरूको भविष्यप्रति चिन्तित बनेका दल बहादुर कटुवालले रुँदै सबैमा अपिल गर्दै भने, “छोरीहरूको शिक्षाका लागि जे जति सकिन्छ, सहयोग गरिदिनुहोस्।”
‘दिन पुगोस्, खान पुगोस्’ भन्ने उदात्त भावना बोकेको भल्मा एकता समाज चेन्नई यसअघि मृतक चालक शंकर बोगटीको परिवारलाई पनि आर्थिक सहयोग गरिसकेको छ।
यस सहयोग अभियानमा सहभागी हुन चाहने जो–कोहीले ९७६६०८२९७७ मा सम्पर्क गर्न सक्ने वा निजको तलको क्यु आरमा रकम जम्मा गर्न सकिने समाजले जनाएको छ।



