
हेमन्त जोशी मसुरिया ,कैलाली —
गौरीगंगा नगरपालिका–११, कान्तिपुर, कैलालीमा धार्मिक सचेतना फैलाउने तथा महुन्याल मन्दिरको संरक्षण र धार्मिक पर्यटकीय स्थलको विकास सहयोगार्थ श्रीमद्भागवत शिव चर्चा धार्मिक विज्ञान महायज्ञ सुरु भएको छ।
आईतबारदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञ साउन २४ गतेसम्म सञ्चालन हुने संयोजक बिमल प्रसाद चौधरीले जानकारी दिनुभयो। महायज्ञको पूर्वसन्ध्यामा मसुरिया बजारसम्म विभिन्न विद्यालय, संघ-संस्थाहरू तथा समूहहरूको सहभागितामा झाँकी, जुलुस र कलश यात्रा निकालिएको थियो।


महायज्ञको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बमले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै उहाँले महायज्ञजस्ता धार्मिक कार्यक्रमहरूले ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा प्रचारमा टेवा पुग्ने बताउनुभयो।
कार्यक्रममा वडा अध्यक्ष साहेबलाल चौधरी, पूर्व वडा अध्यक्ष हरि तिवारी, कार्यपालिका सदस्य हरिना खाती, अन्य वडा सदस्यहरू, संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी र स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
अयोजकका अनुसार महायज्ञमा नेपालका सुप्रसिद्ध कथावाचक अच्युत शरण महाराजद्वारा श्रीमद्भागवत शिव चर्चा गरिनेछ। साथै, प्रत्येक दिन संगितमय कथा प्रवचन समेत हुने भएकाले आयोजक समितिले भक्तजन तथा श्रद्धालुहरूलाई महायज्ञमा सहभागिताको आमन्त्रण गरेको छ।



