
डोटी,जोरायल – डोटीको जोरायल गाउँपालिका–५ र ६ नम्बर वडामा 4G नेटवर्क अभावका कारण सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य कठिन बनेको छ। बायोमेट्रिक प्रणालीमार्फत विवरण अद्यावधिक गर्न आवश्यक इन्टरनेट सुविधा नहुँदा वृद्धवृद्धा आमाबुबाहरू नेटवर्क आउने स्थान खोज्दै खोलाकिनार र टाकुरासम्म पुग्न बाध्य भएका छन्।
५ नम्बर वडा सचिव बिनोद रजवारका अनुसार, गाउँमै NTC को नेटवर्क मात्रै भए पनि यो पनि प्रभावकारी छैन। “घाम लागेका बेला मात्रै केही समय नेटवर्क चल्छ, तर बादल लागे वा मौसम बिग्रिएमा फोनसमेत सम्पर्क विहीन हुन्छ,” उनले भने।

उनका अनुसार, सबै सेवाग्राहीलाई वडा कार्यालयसम्म बोलाउन गाह्रो हुने भएकाले टोली गाउँमै गएर नवीकरण सेवा दिइरहेको छ। तर, गाउँमै नेटवर्क नहुँदा बायोमेट्रिक प्रक्रिया पूरा गर्न सेवाग्राहीलाई असहज परिस्थितिमा खोलाकिनार वा उचाइ भएका स्थानमा लैजानुपर्ने बाध्यता छ।
“नेटवर्क समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायलाई आग्रह गरिसकेका छौं, तर अहिलेसम्म ठोस पहल भएको छैन,” स्थानीय सेर बोगटीले बताए। यस समस्याले विशेषगरी वृद्धवृद्धा, शारीरिक रूपमा असक्त व्यक्ति र दुर्गम बस्तीमा बस्ने नागरिकलाई बढी असर पारेको छ।
स्थानीयले सरकारी सेवा प्रभावकारी र सहज बनाउन तत्काल नेटवर्क सुविधा सुधार गर्न नेपाल टेलिकम र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।



