
डोटी । लगातारको वर्षातले जोरायल गाउँपालिका–५ चौकी देखि वडा नं. ६ खसरे सडक अवरुद्ध भएपछि स्थानीयवासीले आज (शनिबार) सामूहिक श्रमदानमार्फत सञ्चालनमा ल्याएका छन्।

अम्बिकेकेदार सामुदायिक वन र भमदेउली सामुदायिक वनका करिब ६० उपभोक्तासहितका बासिन्दाले सडक जीर्ण बनेर मोटरसाइकल समेत आवतजावत गर्न नसक्ने भएपछि आफैं जुटेर बाटो खन्ने, माटो हाल्ने र सम्याउने काम गरेका हुन्।

अम्बिकेकेदार सामुदायिक वनका अध्यक्ष शेर बोगटीका अनुसार वर्षातका कारण लामो समयदेखि समस्या भएपछि श्रमदानमार्फत सडक मर्मत गरिएको हो। सडक सञ्चालन भएपछि विद्यार्थी, बिरामी तथा किसानलाई दैनिक आवतजावत र कृषिजन्य उत्पादन बजार पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।



