
डोटी, भदौ १४ – जोरायल गाउँपालिका–६ गुनडमा अवस्थित श्री सिलंगी सामुदायिक वन उपभोक्ता समूहको १६औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ। कार्यक्रम समूहका अध्यक्ष लिलम कुमार साउँदको सभाध्यक्षता र वडा अध्यक्ष गणेश बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। यस अवसरमा विशिष्ट अतिथि कार्यपालिका सदस्य सबिना बिक, वडा सदस्य यज्ञ साउँद, संस्थापक अध्यक्ष गणेश साउँद लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमा वन संरक्षण, काठ–दाउरा वितरणमा पारदर्शिता, घाँस कटानी व्यवस्थापन, सडक मर्मत तथा खोला कटान रोकथाममा श्रमदान, महिलाको सक्रिय सहभागिता लगायतका गतिविधिहरू समेटिएका थिए।

समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न परिवारलाई निशुल्क घाँस–दाउरा वितरण, वृद्धवृद्धालाई सहयोग, विद्यालयमा किताब तथा सामग्री उपलब्ध गराउने, स्वास्थ्य शिविर सञ्चालन, छात्रवृत्ति वितरण, विपद पीडितलाई राहत उपलब्ध गराउने जस्ता कार्यहरू गर्दै आएको छ।

आर्थिक प्रतिवेदनअनुसार समूहले सो अवधिमा २ लाख २८ हजार ५ सय ३१ रुपैयाँ आम्दानी गरेको छ भने ८८ हजार ३ सय ८५ रुपैयाँ खर्च भएको छ। नगद र बैंक मौज्दातसहित १लाख ४० हजार १ सय ४६ रुपैयाँ रकम बचत रहेको जानकारी दिइएको छ।
कार्यक्रममा समूहले निर्णय कार्यान्वयनमा कठिनाइ, सदस्यमा चेतनाको कमी, पालेवन क्षेत्रमा गाई–वस्तु छाड्ने प्रवृत्ति तथा सीमित आम्दानीका स्रोतलाई चुनौतीका रूपमा औंल्याएको छ।
आगामी वर्षका लागि सामुदायिक भवन निर्माण, महिला र दलित लक्षित कार्यक्रम, वृक्षारोपण तथा झाडी सफाइ, वन पैदावारको उचित वितरण, सचेतना अभियान, आयआर्जनमुखी तालिम, कृषि प्रवर्द्धन, खेलकुद तथा युवा सक्रियता कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।
कार्यक्रमले सामाजिक समावेशिताको प्रवर्द्धन गर्दै जातीय तथा लैङ्गिक विभेदविरुद्ध जनचेतना फैलाउने, अपाङ्ग र ज्येष्ठ नागरिकलाई सहयोग गर्ने र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।



