
अत्तरिया, कैलाली ।
कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा १८ औं राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको पूर्वसन्ध्यामा भदौ १४ गते वृहत डेउडा–दोहोरी खेलको आयोजना गरिएको थियो, जसको प्रमुख प्रवर्द्धक सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान धनगढी, कैलाली रहेको थियो। उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संस्थापक सदस्य, दानदाता, शिक्षक, विद्यार्थी, व्यापारी, सञ्चारकर्मी, आमा समूहलगायत करिब ३०० जनाको उपस्थितिमा वरिष्ठ कलाकार दीर्घ फुलारा र ममता धामीको समूहले आकर्षक डेउडा प्रस्तुत गरेका थिए।


भदौ १५ गते पुस्तकालय परिसरमा आयोजित मुख्य कार्यक्रममा पुरस्कार वितरण र स्रष्टा–सर्जक सम्मान गरिएको थियो। कार्यक्रमको अध्यक्षता पुस्तकालय अध्यक्ष पुष्पराज जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी हुनुहुन्थ्यो। कार्यक्रममा वडा अध्यक्ष एवम् नगर प्रवक्ता गोपाल दत्त भट्ट, पुस्तकालयका विशिष्ट दानदाता सुरत कार्की, ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखा प्रमुख रविना दिदीलगायत विशिष्ट अतिथिहरूको सहभागिता थियो।
कार्यक्रममा नेपाली छन्द कविताका युवा साहित्यकार हिरा भट्टलाई “मुड्भरी साहित्य पुरस्कार–२०८१” (रु. ११ हजार १ सय ११) र डेउडा संस्कृतिको संरक्षणमा योगदान पु¥याएकी पूर्णिमा ठगुन्नालाई “गणेश–शारदा स्मृति लोक साहित्य पुरस्कार–२०८१” (रु. ५ हजार ५) प्रदान गरिएको थियो।
त्यस्तै, विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमध्ये थारु भाषा र संस्कृतिमा योगदान पु¥याएका यज्ञराज चौधरी, धर्म तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पु¥याएका प्राचार्य खगेन्द्रराज अवस्थी, पत्रकारितामा समर्पित गोविन्द रोस्यारा, डेउडा संस्कृतिमा दीर्घ योगदान पु¥याएका वरिष्ठ लोकगायक केशवराज फुलारा, डेउडा कार्यक्रममा सक्रिय भूमिका निभाएका दीर्घराज फुलारा र ममता धामी, साथै पुस्तकालयमा नियमित अध्ययन गर्ने भोजराज भट्ट र डम्बरराज ओझा रहेका छन्।



