
डोटी, असोज १०— डोटीको जोरायल गाउँपालिकामा सीमान्तकृत बालबालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ। शुक्रबार युरोपियन युनियन र युनिसेफको आर्थिक सहयोग, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको सहकार्य तथा पालिकासँगको समन्वयमा सहयोग कार्यक्रम सम्पन्न भएको हो।

गाउँपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहराका अनुसार पालिकाका सबै ६ वडाबाट छनौट गरिएका १२ जना
विपन्न, असहाय तथा अपाङ्गता भएका बालबालिकालाई प्रतिव्यक्ति ५ हजारका दरले नगद सहयोग प्रदान गरिएको हो।
निड्स नेपालका जिल्ला प्रतिनिधि शिव सार्कीले पछाडि परेका सीमान्तकृत बालबालिकाको शिक्षामा टेवा पुग्ने उद्देश्यले सहयोग गरिएको जानकारी दिए। उनका अनुसार ग र घ श्रेणीका अपाङ्गता भएका, आमाबाबु नभएका, जटिल स्वास्थ्य समस्याबाट ग्रस्त वा पूर्णरूपमा बेसहारा बालबालिका मापदण्डका आधारमा छनौट गरिएको हो।
पालिकामा आयोजित कार्यक्रममा बालबालिकाका अभिभावकलाई बोलाइ उनीहरूलाई रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष बोहरा, शिक्षा शाखा प्रमुख तेज बहादुर खत्री, जनप्रतिनिधि तथा पालिकाका अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो।



